Trend

श्याम घिमिरे,
कात्तिक २८ अर्घाखाँची –

अर्घाखाँची, कार्तिक २८ — अर्घाखाँची जिल्लामा मतदाता नामावली दर्ता गर्नेको चाप दिनप्रतिदिन बढ्दै गएको छ । निर्वाचन आयोगको मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत नयाँ मतदाता र विवरण संशोधन गर्न आउनेको भीड देखिएको हो । जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको जिल्ला निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि सेवा लिन आउनेको भिड लाग्ने गरेको छ । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्नुपर्ने समयसिमा तोकेको छ ।

आयोगले तोकेको मिति नजिकिदै गर्दा यसअघि नाम दर्ता गर्न छुटेका, ठाँउसारी,त्रुटि सच्चाउने,विदेशबाट फर्किएका र उमेरको योग्यता पुगेकाहरू नामावली दर्ताका लागि कार्यालयमा आउने गरेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख बुद्धप्रकाश पौडेलले बताउनुभयो ।

केहिदिन अघिसम्म दैनिक २० देखि २५ जनाको अनुपातमा नामावली दर्ता भएको कार्यालयमा पछिल्ला दिनहरुमा भने अपेक्षा गरिएभन्दा बढी दैनिक एक सय १० जना भन्दा धेरैको हाराहारीमा सेवाग्राहीहरु आउने गरेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । निर्वाचन आयोगले गत असोज १० गतेदेखि मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको थियो । दर्ताको लागी जिल्लाको सबै क्षेत्रबाट सेवाग्राहीहरु आएको पौडेलले बताउनुभयो ।

बिहिवारसम्म १५ सय २३ जना नयाँ मतदाता थपिएका पौडेलले जानकारी दिनुभयो । कात्तिक ३० सम्म करिव दुइहजार नयाँ मतदाता थपिने अनुमान रहेको कार्यालयले जनाएको छ । मुख्यगरी जिल्ला बाहीर ठाँउसारी गर्ने मतदाताहरुको संख्या बढी रहेको पौडेलको भनाइ छ । बिहिवारसम्म यो संख्या ५ सय ९५ रहेको छ ।

सेवाग्राही हरुले अनलाइन दर्ता गर्दा केही समस्या आउने गरेको बताए । अनलाइनबाट काम गर्दा प्राविधिक समस्या देखिएपनि जनशक्ति अभाव भने नरहेको प्रमुख पौडेलको भनाइ छ । निर्वाचन आयोगले सबै योग्य नागरिकलाई समयमै नाम दर्ता गर्न आग्रह गर्दै आइरहेको छ ।

वि.स. २०७९ मा भएको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा १ लाख ६४ हजार सात सय ६८ जना मतदाता रहेको जिल्लामा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरण अनुसार १ लाख ६८ हजार चार सय ४१ जना कायम भएको छ ।

अघिल्लो निर्वाचनको तुलनामा तिन हजार छ सय ७३ जना मतदाता संख्या बढेको हो । उमेर पुगेका र बिगतमा मतदाता नामावलीमा छुटेका व्यक्तिहरु अहिले समावेस भएकाले मतदाता संख्या बढेको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP