श्याम घिमिरे,
मंसिर ८ अर्घाखाँची –
अर्घाखाँची जिल्लामा चार हजार नौसय भन्दा बढी नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता अभियान सञ्चालन गरिएकोमा जिल्लामा चार हजार नौसय ३५ जना मतदाता थपिएका हुन् । गत असोज ९ देखि मंसिर ५ गतेसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था रहेकोमा कार्यालयमा पुगेर र राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार कार्यालयमै पुगेर एक हजार आठसय ८५ जनाले नाम दर्ता गराएका छन् । महिलाको संख्या एक हजार एकसय ७६ र पुरुषको संख्या सातसय १६ रहेको छ । राष्ट्रिय परिचयपत्रमार्फत तिनहजार ५१ जनाले नाम दर्ता गराएका छन् । राष्ट्रिय परिचयपत्र बनाएकाले सिधै अनलाइनमार्फत नाम दर्ता सक्ने व्यवस्था गरिएपछि मतदातालाई सहज भएको हो । कार्यालयमा पुगेरभन्दा धेरै मतदाताले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएको कार्यालयले जनाएको छ ।

यो अबधिमा आठ सय ७८ जनाले ठाउँसारी , एक सय ७५ जनाले त्रुटि सच्याउन, एकजनाको नाम हटाउन र बाह्य जिल्ला दर्ताकालागी ३७ जनाले कार्यालयमा निवेदन दिएको कार्यालय प्रमुख पौडेलले बताए । यो सहित अब जिल्लामा मतदाताको सङ्ख्या एक लाख ६८ हजार चारसय ४१ पुगेको छ । जसमा महिलाको संख्या ८३ हजार तिनसय ५७ र पुरुषको संख्या ८५ हजार ८४ रहेको छ । पछिल्लो मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य मतदाताको विवरण छुट्याउनलाई भने केही समय लाग्ने कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।
यसैबिच अर्घाखाँचीमा ६ वटा मतदान केन्द्र थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले पाणिनी गाउँपालिकामा दुई र सितगंगा नगरपालीकामा चार गरी ६ वटा मतदान केन्द्र थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताउनुभयो ।
प्रजिअ सुवेदीका अनुसार पाणिनी गाउँपालीका वडानं.१ स्थित सरस्वती मा.बि आमडाँडा र ३ नम्वर वडाको सरस्वती भवन राष्ट्रिय मा.बि हर्राबोटमा मतदान केन्द्र थप्न आयोगमा सिफारिस गरीएको छ । यस्तै बैठकले सितगंगा नगरपालीका वडानं. ११ मा रहेको चाबदिप मतदान स्थल हटाएर दुम्सी आधारभूत विद्यालय र धर्मदय मा.बि ढुङ्गेसेरामा मतदान केन्द्र थप्ने निर्णय गरेको छ । यस्तै सोहि वडाकै ताराज्योति आधारभूत विद्यालय दोबाटामापनि मतदान केन्द्र थप्ने निर्णय गरेको प्रजिअ सुवेदीले बताउनुभयो । बैठकले १३ नम्वर वडाको सिमलपानी र थाप्लेवारीमा रहेका दुईवटा केन्द्रमा टाढापर्नेहरुकालागी मुसिवानमा नयाँ केन्द्र थप्न आवश्यक रहेकाले सोहीबमोजिम आयोगमा सिफारिस गरी पठाइएको प्रजिअ सुवेदीले जानकारी दिनुभयो ।
यसअघि प्रजिअ सुवेदीले बाबुराम आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको आफै स्थलगत अबलोकन समेत गर्नुभएको थियो । अबलोकनको क्रममा उक्त केन्द्र व्यवस्थापकिय हिसावले मतगणना गर्ने ठाँउ सानो र सुरक्षाको दृष्ट्रीकोणले नअटने भएकोले तलवाट नआएर पठाउन नसकिएको सुवेदीले बताउनुभयो ।
एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई सय दुई मतदान केन्द्र छन् । निर्वाचनका लागि जिल्लामा ९७ मतदानस्थल सिफारिस गरिएको छ । छ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा ६१ वटा वडा रहेका छन् ।




