
श्यााम घिमिरे,सन्धिखर्क, जेठ ३० अर्घाखाँची — नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता समाज रूपान्तरणको महत्वपूर्ण आधार भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको १७औँ साधारण सभाको शनिबार सन्धिखर्कमा उद्घाटन गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि स्वतन्त्र र सबल सञ्चार माध्यम अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले सञ्चारमाध्यम कमजोर भए लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर हुँदा नागरिकका अधिकार तथा स्वतन्त्रतासमेत प्रभावित हुने धारणा राख्नुभयो ।
केन्द्रीय सचिव प्रियासनले वर्तमान अवस्थामा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई विस्थापित गर्ने उद्देश्यले सञ्चार संस्थामाथि विभिन्न किसिमका अंकुश लगाउने प्रयास भइरहेको आरोप लगाउनुभयो । उहाँले यस्ता गतिविधिले प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै चुनौती सिर्जना गर्ने बताउनुभयो । उहाँले पत्रकारिताको नाममा अराजकता फैलाउने र पेशागत मर्यादा विपरीत कार्य गर्ने व्यक्तिलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ तयार रहेको स्पष्ट पार्नुभयो । पत्रकारितालाई जिम्मेवार, विश्वसनीय र मर्यादित बनाउन महासंघ प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
मोबाइल प्रविधिको सहज पहुँचसँगै सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत आफूलाई पत्रकार दाबी गर्ने प्रवृत्ति बढिरहेको उल्लेख गर्दै प्रियासनले यस्ता गतिविधिबाट समाजमा भ्रम, अराजकता र गलत सूचना फैलिन सक्ने भएकाले सबै सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले समृद्ध नेपाल निर्माणका लागि पत्रकार महासंघ सरकार, निजी क्षेत्र तथा नागरिक समाजसँग हातेमालो गर्न तयार रहेको बताउँदै उत्पादन वृद्धि, आर्थिक विकास तथा स्वरोजगार प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । साथै समाजमा रहेका विकृति, विसंगति, भ्रष्टाचार र अन्यायका विरुद्ध महासंघ सधैं अग्रपङ्क्तिमा रहने प्रतिबद्धता पनि जनाउनुभयो ।
प्रियासनले स्थानीय तह तथा सरकारी निकायबाट उपलब्ध हुने विज्ञापन जिल्लाभित्रकै सञ्चारमाध्यममा समानुपातिक र न्यायोचित ढंगले वितरण गरिनुपर्नेमा जोड दिनुभयो । यसले स्थानीय सञ्चारमाध्यमको दिगोपन र संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइराला, सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोख्रेल,प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश महासचिव पाण्डव शर्मा,नेकपा एमाले अर्घाखाँची सचिव तोजबहादुर रायमाझी बिधान,नेपाली कम्युनिष्ट पार्टी लुम्विनी प्रदेश सचिवालय सदस्य ठाकुर सौराग,राजमो जिल्ला सचिवालय सदस्य जिवनारायण खनाल, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष विष्णु भुसाल लगायतले शुभकामना मन्तव्य राख्दै लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवद्र्धन र नागरिकलाई सही सूचना प्रवाह गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । वक्ताहरूले प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारहरूको पेशागत सुरक्षा तथा स्थानीय सञ्चारमाध्यमको संस्थागत विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
साधारण सभामा जिल्लाका पत्रकार, सञ्चारकर्मी, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रम महासंघका जिल्ला अध्यक्ष गणेश खनालको अध्यक्षता,उपाध्यक्ष रुद्रमणी भुसालको स्वागत मनतब्य र सहसचिव घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा अग्रज पत्रकारहरु विष्णु भुसाल,निमबहादुर रिजाल,शोभाखर पन्थी,हिम जिसी लेकाली र अशोक खनाललाइ सम्मान समेत गरिएको थियो ।
