
श्याम घिमिरे अर्घाखाँची, असार १० । नेपाल औषधि व्यवसायी संघको ५३औँ स्थापना दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ अर्घाखाँचीले सामाजिक उत्तरदायित्व अन्तर्गत सन्धिखर्क नगरपालिका–८, आँपखोला सिमलपाटामा बसोबास गर्ने गरिब तथा जेहेन्दार परिवारलाई खाद्य सामग्री वितरण गरेको छ ।
संघले स्थापना दिवसलाई मानवीय सेवासँग जोड्दै आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । सामग्री वितरण कार्यक्रममा बोल्दै संघका लुम्बिनी प्रदेश सल्लाहकार नारायणप्रसाद पौडेलले औषधि व्यवसाय केवल व्यापारमा सीमित नभई समाजप्रतिको उत्तरदायित्वसँग पनि जोडिएको बताउनुभयो । उहाँले विपन्न तथा आवश्यकतामा रहेका नागरिकलाई सहयोग गर्नु संघको सामाजिक दायित्व भएको उल्लेख गर्दै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद भुसालको अध्यक्षता तथा सचिव सूर्य थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्षद्वय कृष्णप्रसाद बन्जाडे र हरी खनाल, सदस्यहरू अमृत गाहा, माधव बन्जाडे, सीता आचार्य पौडेल तथा मेडिकल व्यवसायी सुमन केसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले स्थापना दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी सामाजिक सेवामूलक गतिविधिमार्फत समुदायसँग जोडिनु सकारात्मक कदम भएको बताएका थिए । संघले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने वरिष्ठ उपाध्यक्ष भुसालको भनाइ छ ।