
श्याम घिमिरे अर्घाखाँची, साउन २१ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीको आयोजनामा गत आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रगति तथा उपलब्धिको समीक्षा गर्दै आर्थिक वर्ष २०८३/०८४ का स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक गरिएको छ ।
कार्यक्रममा गत आर्थिक वर्षमा पशु स्वास्थ्य, पशुपन्छी विकास, रोग नियन्त्रण, कृत्रिम गर्भाधान, पशु उपचार, कृषक क्षमता अभिवृद्धि तथा विभिन्न अनुदानमुखी कार्यक्रमहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको थियो । साथै चालु आर्थिक वर्षमा सञ्चालन गरिने प्राथमिकताप्राप्त कार्यक्रम, बजेट तथा कार्ययोजनाबारे समेत कार्यालय प्रमुख डा.प्रबेश सिंह कुवँरले प्रकाशपार्नुभएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले पशुपालन क्षेत्र जिल्लाको महत्वपूर्ण आर्थिक आधार रहेको बताउनुभयो । उहाँले पशुपालक कृषकलाई प्रोत्साहन गर्ने, उत्पादन वृद्धि गर्ने तथा पशु स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी निकाय, स्थानीय तह, प्राविधिक कर्मचारी तथा कृषकबीचको समन्वयबाट मात्रै पशुपालन क्षेत्रको दिगो विकास सम्भव हुने बताउँदै कृषकमैत्री कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले पशुपालन क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, पशु स्वास्थ्य सेवा विस्तार तथा कृषकमैत्री कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिएका थिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सार्वजनिक गरेको वार्षिक कार्यक्रममार्फत जिल्लाका पशुपालक कृषकलाई लक्षित विभिन्न सेवा, प्राविधिक सहयोग तथा उत्पादनमुखी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिने विश्वास व्यक्त गरिएको छ ।
पशु स्वास्थ्य अधिकृत सुन्दरलाल सुनारको सञ्चालन र पशु चिकित्सक विष्णु प्रसाद पौडेलको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रममा जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४ करोड १६ लाख ८१ हजार रुपैयाँ बजेट विनियोजन भएको जनाएको छ । उक्त बजेटमार्फत पशु स्वास्थ्य सेवा, पशुपन्छी विकास, रोग नियन्त्रण, कृषक लक्षित अनुदान तथा उत्पादन वृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
