आइतबार १४ भाद्र २०८३

भदौ १४, २०८३ – अमेरिकाले इरानमाथि आर्थिक दबाब थप तीव्र बनाउँदै विश्वभर फैलिएको इरानी व्यापार तथा आयस्रोतको सञ्जाललाई लक्षित गरिरहेका बेला तेहरानले भने अमेरिकी दबाबसामु नझुक्ने स्पष्ट संकेत दिएको छ। अमेरिका–इरान तनाव चुलिँदै गएपछि इरानले आफूविरुद्ध लगाइएका आर्थिक प्रतिबन्धलाई ‘अन्यायपूर्ण’ भन्दै त्यसको सामना गर्ने जनाएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले विदेशी व्यापारमा उल्लेख्य कमी आएको स्वीकार गरे पनि देशको राष्ट्रिय हित र सुरक्षामा कुनै सम्झौता नगर्ने बताउनुभएको छ। पछिल्लो समय इरानमा मुद्रास्फीति पनि उच्च बनेको छ।

आर्थिक संकट बढ्दै गए पनि तेहरानले आत्मसमर्पण गर्ने सम्भावना नरहेको बताएको छ। इरानले कूटनीतिक संवादको सम्भावना पूर्ण रूपमा अस्वीकार नगरे पनि आफ्नो राष्ट्रिय सुरक्षा र हितलाई केन्द्रमा राखेर मात्र वार्ता अघि बढाउने संकेत गरेको छ।

यसैबीच, इरानी सेनाले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण कायम रहेको दाबी गरेको छ। विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिने यस जलमार्गलाई लिएर अमेरिका र इरानबीचको तनाव थप संवेदनशील बनेको छ।

अमेरिकाले इरानसँग व्यापार वा आर्थिक कारोबार गर्ने विदेशी कम्पनी तथा देशमाथि समेत प्रतिबन्धात्मक कारबाही गर्न सकिने चेतावनी दिएको छ। वासिङ्टनको रणनीति इरानलाई आर्थिक रूपमा थप कमजोर र अन्तर्राष्ट्रिय रूपमा एक्ल्याएर वार्ताको टेबलमा फर्काउन दबाब सिर्जना गर्नु रहेको विश्लेषकहरूको भनाइ छ।

युद्ध सुरु भएको करिब छ महिना बितिसक्दा पनि दुवै पक्ष आफ्नो अडानबाट पछि हट्ने संकेत देखिएको छैन। यद्यपि, पाकिस्तान र कतारलगायत क्षेत्रीय मुलुकहरूले अमेरिका र इरानबीच पुनः संवादको वातावरण बनाउन कूटनीतिक पहल जारी राखेका छन्।


Last Updated on: August 30th, 2026 at 10:23 am
२ पटक हेरिएको

तपाईको प्रतिक्रिया