
भदौ १४, २०८३ काठमाडौं — कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आज एक–दुई स्थानमा धेरै ठूलो वर्षा हुनसक्ने मौसम पूर्वानुमान गरिएको छ। भारी वर्षाका कारण पहिरो, गेग्रान बहाव तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा समेत केही स्थानमा भारी वर्षा हुनसक्ने जनाइएको छ।
देशका हिमाली तथा पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरैजसो तराई क्षेत्रमा तथा कोशी र मधेश प्रदेशका केही तराई भूभागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोशी प्रदेशका पहाडी तथा तराई भूभाग र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।
भारी वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्नेछ। यसबाट सडक तथा यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
विशेषगरी जोखिममा रहेका क्षेत्रका नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र निर्देशनमा ध्यान दिन आग्रह गरिएको छ।