
भदौ १४, २०८३- बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी रकम सङ्कलन भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्नेक्रम बढेको छ ।
कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्री राहत कोषमा हिजोसम्म नौ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब चार करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको कार्यालयको भनाइ छ । यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख आठ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ ।
विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष) मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।
खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयको भनाइ छ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचना र अन्य क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि पौने ८ खर्ब रुपैयाँ आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ । ujyaaloonline