

के पी भुसाल अजस
लेख्ने जागर छैन है मगजमा के हुन्छ नेपालमा,
मान्छेका बिचमा कठै किन यसो भैदिन्छ संसारमा ।
सारै सुन्दर ती बजार चहकी विध्वंस पो भै गए,
आयो पर्लय घातकीक्षण अहो बस्ती सखापै भए ।।
भोटेकोसी भयो महाविपदको ताण्डव् यसैका भए,
मान्छे कैयनका विना कसुरमा ज्यानै बिपत्ता भए ।
मायामोह छँदै थिएन यसमा खाली थियो ताण्डव,
केही बोल्न नपाइ भेल बिचमा बग्दै रहे बान्धव ।।
बेहानी पखमा चिसो सिरसिरे हावा चलेको थियो,
त्येही औसरमा तसै बगलमा भूकम्प जादो भयो ।
अस्थायी तब ताल् फुटेर जल ता एक्कासि बढ्दो भयो,
पैरा ती हिउँका अझै थपभए आकार बढ्दै गयो ।।
ढुङ्गा कङ्कड जो थिए सब बगे बाटो बिचैका अनि,
सारै घोर भयो प्रवाह सलिला बाटो बिरायो पनि ।
धेरै सोत्तर भो कठै प्रकृति नै सारै भयो नाशक,
भोटेकोसी भयो सबै कसुरको नेपालमा घातक ।।
कैयौँ ज्यान बगे सबार सहितै नानाथरी रूपका,
कयौँ जीवन ता बगे घरसँगै उम्दा कठै गाउँका ।
बस्ती सुन्दर युद्धभूमि हुन गो बेत्रावतीको अनि,
उस्तै भो क्षणमै त्रिशूली रण झैँ स्वप्नासरी भो पनि ।।
त्राहि त्राहि हुँदा कठै सकसमा सारै नदीका तट,
भागाभाग भयो तथापि जन क्वै भाग्नै सकेनन् झट ।
हेर्दा क्वै क्षणमै विदारक भयो सारै त्रिशूली जल,
उस्तै भो शवले कठै बगर त्यो नारायणीको जल ।।
बग्दै लास थिए र सेफ धनका बग्दै थिए ग्यास् पो,
यस्तोमा सुन पो पिचास असती चोर्दै थिए लासको ।
तान्दै ग्यास थिए कतै खुसहुँदै तान्थे मुढा नै अनि
ज्ञानी क्वै जनले बुझाइ धनमाल् आदर्श बन्थे पनि ।।
एकाएक अहो मनुष्य बिचमा आयो दशा वेदना,
सारा देशभरी तथा जगतमै चिन्ता भयो शोचना ।
कोही बाल गए र वृद्ध पनि ता थाहै नपाई गए,
यस्तो यो भवितव्यमा युगल ती सोच्नै नपाई गए ।।
मेधावी जन देशका पनि गए धेरै थरीका गए,
कैयौँ विज्ञ गए र पर्यटक ता घुम्दै गरेका गए ।
यस्तो दुर्घटना विदारक अहो सुन्दै त्रासी भयो,
शोकैशोक भयो कठै मुलुकमा संसार स्तब्धै भयो ।।
जो जो जानुभयो मनुष्य विवशले छाडेर धर्ती जहीँ,
मिलोस् शाान्ति अहो सबै अजर ती आत्माहरूको उहीँ ।
दिन्छन् आफन्तले दिवङ्गतहरू सम्झेर जलाञ्जली,
भन्छौँ है सबले दिवङगतहरू सम्झेर श्रद्धाञ्जली ।।
प्रकाशन मिति : २०८३ भदौ १५