
श्याम घिमिरे जेठ १५ अर्घाखाँची –
जिल्ला डोरीतान संघ अर्घाखाँचीको आयोजनामा जिल्ला स्तरीय खुल्ला डोरितान प्रतियोगिता २०८३ आयोजना हुने भएको छ । आगामी जेठ २० गतेदेखि सञ्चालन हुने प्रतियोगिताबारे जानकारी दिन बिहीबार सन्धिखर्कमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला डोरीतान संघ अर्घाखाँचीका अध्यक्ष बिष्णु परियारले प्रतियोगिता सन्धिखर्कमा सञ्चालन हुने जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभित्र रहेका विभिन्न पालिका, क्लब तथा युवा समूहहरूको सहभागितामा प्रतियोगिता आयोजना गरिनेछ ।
डोरीतान खेल नेपाली समाजमा परम्परागत रूपमा खेलिँदै आएको सामूहिक खेल हो । दुई समूहबीच डोरी तानेर प्रतिस्पर्धा गरिने यस खेलमा बल, सहकार्य, रणनीति र एकताको महत्वपूर्ण भूमिका रहने गर्दछ । खेलले शारीरिक तन्दुरुस्ती बढाउनुका साथै अनुशासन, आत्मविश्वास र समूहमा काम गर्ने क्षमताको विकास गर्न सहयोग गर्ने विश्वास गरिएको छ ।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष तथा भव्य बनाउन आवश्यक तयारीलाई तीव्र पारिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई पुरस्कार, ट्रफी, प्रमाणपत्र तथा सम्मान प्रदान गरिने जनाइएको छ । प्रतियोगिताले जिल्लामा खेलकुद गतिविधिलाई थप चलायमान बनाउनुका साथै युवाहरूलाई परम्परागत खेलप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ ।