
अर्घाखाँची टुडेडटकम अर्घाखाँची, असार ३२ । अर्घाखाँची आवासीय माध्यमिक विद्यालय, बेलबाटिकाले कक्षा १ देखि ५ सम्म पूर्ण रूपमा निरन्तर विद्यार्थी मूल्याङ्कन (Continuous Assessment System) तथा विद्यार्थी कार्यसञ्चयिका (पोर्टफोलियो) प्रणाली लागू गरेको छ । विद्यालयले मंगलबार आयोजित अभिभावक अभिमुखीकरण कार्यक्रममार्फत उक्त प्रणाली औपचारिक रूपमा कार्यान्वयनमा आएको जानकारी दिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर राउत क्षेत्रीले विद्यालय व्यवस्थापन समितिको स्पष्ट दृष्टिकोण, आवश्यक व्यवस्थापन तथा शिक्षकहरूको सक्रियता र मेहनतका कारण यो प्रणाली सफलतापूर्वक कार्यान्वयनमा आएको बताउनुभयो । उहाँले अभिभावकको सक्रिय सहभागिता र समर्थनले विद्यालयलाई थप उत्साहित बनाएको उल्लेख गर्दै सम्पूर्ण शिक्षक र अभिभावकप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
विद्यालयका सहायक प्रिन्सिपल ध्रुव आचार्यका अनुसार अभिभावकहरूले पहिलो पटक निरन्तर मूल्याङ्कन अभिलेख पुस्तिका अध्ययनका लागि घरमा लगेर हस्ताक्षरसहित विद्यालयमा फिर्ता गर्ने प्रक्रिया सुरु भएको छ । सहभागी अभिभावक झविलाल रायमाझीले निरन्तर मूल्याङ्कन प्रभावकारी बनाउन यसको नियमित कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।
विद्यालयका अनुसार प्रारम्भिक चरणमा समयको चापका कारण मूल्याङ्कन हुन बाँकी रहेका केही विषय तथा पाठको मूल्याङ्कन यसै साताभित्र सम्पन्न गरी सम्पूर्ण गतिविधिको प्रमाण विद्यार्थी पोर्टफोलियोमा व्यवस्थित रूपमा समावेश गरिनेछ । शिक्षक टामलाल भट्टराईले नियमित अभ्यासपछि यो प्रणाली सहज रूपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
कक्षा १–३ की संयोजक निर्मला रायमाझीले अब पूर्वप्राथमिक तहमा पनि निरन्तर मूल्याङ्कन र पोर्टफोलियो व्यवस्थापन सुरु गरिने जानकारी दिँदै अनुभवी शिक्षक, विद्यालय प्रशासन र व्यवस्थापनबाट आवश्यक सहजीकरण गरिने बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल चोलनारायण बन्जाडेका अनुसार नर्सरीदेखि कक्षा ५ सम्म अब आवधिक परीक्षा सञ्चालन नहुने भएकाले निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीलाई स्वचालित र प्रभावकारी रूपमा अघि बढाइनेछ । मूल्याङ्कनको विवरण सफ्टवेयरमा प्रविष्ट गरेपछि ग्रेडसिट स्वतः तयार हुने र कक्षा ६ माथिको चौमासिक परीक्षाको नतिजासँगै नर्सरीदेखि कक्षा ५ सम्मको नतिजा पनि सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।
संस्थापक प्रिन्सिपल श्रीकृष्ण भुसालले प्रत्येक शुक्रबार मूल्याङ्कन अभिलेख पुस्तिका विद्यार्थीमार्फत अभिभावकसम्म पठाइने र अभिभावकले रुजु तथा हस्ताक्षर गरी सोमबार विद्यालयमा फिर्ता गर्ने व्यवस्था गरिएको बताउनुभयो । शिक्षक गौमाया थापाका अनुसार केही जीवनोपयोगी सीपको मूल्याङ्कन अभिभावकले समेत चेकलिस्ट र रुब्रिक्सका आधारमा गर्ने तथा आवश्यक अवस्थामा विद्यार्थीले स्वमूल्याङ्कन र सहपाठी मूल्याङ्कनसमेत गर्ने व्यवस्था गरिएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर राउत क्षेत्रीको अध्यक्षता, प्रिन्सिपल चोपनारायण बन्जाडेको सञ्चालन एवं संस्थापक प्रिन्सिपल श्रीकृष्ण भुसालको सहजीकरणमा सम्पन्न भएको हो । विद्यालयका अनुसार सरकारको निर्देशनअनुसार चालु शैक्षिक सत्रमा अर्घाखाँची जिल्लामा कक्षा १ देखि ५ सम्म पूर्ण रूपमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागू गर्ने परिपत्र भए अनुसार कक्षा ५ सम्म पूर्ण रूपमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागू गरिएको हो ।