मंगलबार १२ साउन २०८३

श्याम घिमिरे
अर्घाखाँची, साउन १२ –
नेपाल चिकित्सक संघले देशव्यापी रूपमा घोषणा गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत अर्घाखाँची अस्पतालमा पनि आकस्मिक (इमर्जेन्सी) सेवा बाहेकका अन्य स्वास्थ्य सेवाहरू बन्द गरिएका छन् । अस्पतालमा कार्यरत चिकित्सकहरूले नेपाल चिकित्सक संघको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै मंगलवारका लागि ओपीडी सेवा बन्द गरिएको बताएका छन् । चिकित्सकहरूले संघको केन्द्रीय विज्ञप्तिलाई समर्थन गर्दै आन्दोलनका कार्यक्रम कार्यान्वयन गरिएको जानकारी दिएका छन् ।

नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनाको विरोध गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको मागसहित देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । सोही कार्यक्रमअनुसार सरकारी अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सेवाहरू बन्द गरिएको संघले जनाएको छ ।

अर्घाखाँची अस्पतालले आन्दोलनका कारण नियमित ओपीडी सेवा प्रभावित भए पनि आकस्मिक तथा जीवनरक्षक स्वास्थ्य सेवा भने निरन्तर सञ्चालनमा रहने जनाएको छ । अस्पताल प्रशासनले अत्यावश्यक स्वास्थ्य समस्या भएका बिरामीलाई इमर्जेन्सी सेवामार्फत उपचार गरिने जानकारी दिँदै अन्य सेवाका लागि अर्को सूचना जारी नभएसम्म प्रतीक्षा गर्न सेवाग्राहीलाई अनुरोध गरेको छ ।

चिकित्सकमाथि बढ्दो हिंसा र असुरक्षाको विषयलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै चिकित्सक संघले स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता तथा दोषीमाथि कानुनी कारबाही नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने जनाएको छ ।


Last Updated on: July 28th, 2026 at 9:54 am
१० पटक हेरिएको

तपाईको प्रतिक्रिया