
पुस १४ अर्घाखाँची,
नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले जिल्लाको शितगंगा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ । शितगंगा नगरपालिका–८ जलुकेमा रहेको उद्योगले विद्युत प्राधिकरणलाई तिर्नु पर्ने ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ बाट विद्युत उपयोग गरे बापतको रकम नतिरेपछि सुक्रवार रातिदेखि लाइन काटिएको नेपाल विद्युत प्राधिकरण अर्घाखाँची बितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिनुभयो । विद्युत् महसुल र जरिवाना वापतको ४७ करोड वक्यौता नतिरेपछि लाइन काटिएको शाखा प्रमुख भट्टराईले बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार मात्रै त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको थियो । उहाँले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिएलगत्तै प्राधिकरणले केही उद्योगको लाइन काटन थालेको हो ।

साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना समेत हुँदै आएको थियो । प्राधिकरणले यसअघि डेडिकेटेड र ट्रङ्कलाइन महसुल नबुझाएको जनाउँदै केहि उद्योगको बिजुली काटेको छ ।