Trend

श्याम घिमिरे
चैत्र–२८ नरपानी

नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले नेपालमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न पाँच सय र एकहजार रुपैयाको नोट विस्तापित गर्नुपर्ने बताउनुभएको छ । व्यक्तिसंग झण्डै १४ / १५ खर्ब रुपैया निस्कृय रुपमा रहेको भन्दै पराजुलीले ५ सय र १ हजार रुपैंयाको नोट खारेज गर्न सरकारलाई सुझाव दिनुभयो । । नेपाल उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेशले नरपानीमा आयोजना गरेको महासंघको नवौं बैठक, भित्तेपात्रो बिमोचन तथा नवबर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दे पराजुलीले यस्तो बताउनु भएको हो । निस्कृय रुपमा रहेको पैसा नेताहरुको घरमा रहेको बताउदै उहाँले डम्पिङ्ग भएको पैसाको जवाफ नेताहरुले दिनुपर्ने जिकिर समेत गर्नुभयो ।

प्रचण्ड नेतृत्वको सरकार गठनसंगै देशको लथालिंगै भएको आर्थिक अवस्था उकास्ने काम भइरहेको भन्दै पराजुलीले प्रचण्ड सरकारकोे प्रशंसा पनि गर्नुभयो । पराजुलीले मुलुकको आर्थिक समृद्धिको निम्ती निजि क्षेत्रसंग साँझेदारी गर्ने, एक अंकको ब्याजदरमा ऋण उपलब्ध गराउने, बन्द रहेका रुग्ण उद्योगहरु संचालन गर्ने र नेपालको उत्पादनले थेगेसम्म आयात प्रतिबन्ध लगाउने जस्ता कार्य सरकारले गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज ठाकुर कुमार विक किशोरले स्वरोजगार र आत्मनिर्भर बन्ने र बनाउने लक्ष्यका साथ अगाडि बढ्न महासंघलाई सुझाव दिनुभयोे । व्यवसाथीहरुको समस्या समाधान गर्न पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

अर्का केन्द्रिय सदस्य छमकुमारी खनाल चिनारीले भ्रष्टाचार र राष्ट्रघातका बिरुद्ध सम्झौताहिन संघर्ष गरि आर्थिक समृद्धिको बाटोमा लाग्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । देशको आर्थिक मेरुदण्डको रुपमा रहेको निजि क्षेत्रको हितमा आफुहरु रहेको बताउँदै नेतृ चिनारीले व्यवसायीहरुलाइ गुणस्तरिय उत्पादन र उपभोगमा ध्यान दिन सचेत गराउनुभयो ।

नेपाल उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष गुप्त बहादुर रानाको अध्यक्षता, प्रदेश सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष तारा बहादुर सुनारको स्वागत मन्तव्य र प्रदेश महासचिव तारा कुमारी रोकायको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ रेडियो/टेलिभिजन समन्वय समितिका केन्द्रिय सदस्य श्याम घिमिरे र पत्रकार महासंघ अर्घाखाँची सदस्य गोपालप्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागि प्रदेश तथा जिल्लाका पदाधिकारीहरु नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको घुम्न जाउँ अर्घाखाँची नामक गितमा छमछमि नाचि रमाइलो समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP