
श्याम घिमिरे
बैशाख २८,अर्घाखाँची
निर्वाचनको झल्को दिनेगरी सन्धिखर्क ग्रीन इङ्गलिस बोर्डिङ स्कुल सन्धिखर्क २ ले क्याप्टेन तथा सहायक क्याप्टेन छनौट गरेको छ । बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुबिच चारवटा सदनका, सदन नेता/उपनेता र समग्र बिद्यालयको क्याप्टेन तथा सहायक क्याप्टेन छनोटकोलागी सुक्रवार निर्वाचन प्रक्रिया सम्पन्न गरिएको बिद्यालयका प्रिन्सिपल टेकबहादुर थापाले बताउनुभयो ।
बिद्यार्थीहरुमा निर्वाचन सम्बन्धि व्यवहारीक ज्ञान बढ्नुको साथै निर्वाचनको अभ्यास हुने भएकोले यस प्रकारको कार्य गरिएको बिद्यालयका सहायक प्रिन्सिपल नारायण प्रसाद भुसालले जानकारी दिनुभयो ।

आफ्नो नेता आफै चुन्न पाएकोमा आफु खुसि भएको कक्षा ७ मा अध्ययनरत अंकित घिमिरेले बताउनुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम भुसालले ग्रिनले जे गर्छ फरक ढंगबाट गर्छ भन्दै यस प्रकारको कार्यमा बिद्यार्थीहरु उत्साहका साथ सहभागी भएकोमा खुसि समेत व्यक्त गर्नुभयो ।
निर्वाचनबाट बिभिन्न पदमा बिद्यार्थीहरु निर्वाचित भएको बिद्यालयका शिक्षक एवं निर्वाचन अधिकृत बामदेव आचार्यले जानकारी दिनुभयो । बिद्यालय क्याप्टेन/सहायक क्याप्टेन र सदन नेता/उपनेता गरि कुल १० पदकालागि भएको निर्वाचनमा कक्षा ६ देखि १० कक्षा सम्म अध्ययनरत २८० जना छात्रछात्राहरुको सहभागीता रहेको थियो । निर्वाचन कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रतिनिधि सहित शिक्षक,बिद्यार्थी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।