
प्युठान बैशाख २८ –
होटल व्यवसाय क्षेत्रमा जिल्लाकै अग्र स्थानमा रहेको जस्पुरमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । जिल्लाको समग्र भागको केन्द्र एवं सबैलाई पायक पर्ने स्थान माण्डवी गाउँपालीका ३, जस्पुर बजारमा त्रिदेव प्यालेसले आइतबार देखी सेवा सुचारु गरेको हो । प्यालेसको लुम्बिनी प्रदेश होटल व्यवसायी महासंघका अध्यक्ष महेन्द्र श्रेष्ठले समुद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमा श्रेष्ठले स्वर्गद्वारीको काखमा रहेको प्यालेसले भारतीय पर्यटकहरुलाई समेत तान्न सक्ने सम्भावना रहेको बताउनु भयो । रोजगारी भन्दा व्यवसायबाट आर्थिक क्षेत्रमा छिटो जीवनस्तर माथि उठ्ने बताउदै उहाँले,‘बैदेशिक रोजगारीको लागि दैनिक हजारौ युवा बाहिरिएको अवस्थामा उदाहरणीय काम गरेको भन्दै श्रेष्ठले व्यवसाय प्रति लगनशील,निष्ठावान र इमान्दार भएर सफल व्यवसायको परिचय दिन आग्रह गर्नुभयो ।
माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले लगानीको सुनिश्चितता कायम गर्न स्थानिय सरकारको भूमिका रहने बताएउनुभयो ।

होटल व्यवसायी महासंघका केन्द्रिय सल्लाहाकार चन्द्रलाल न्यौपानेले सफल व्यवसाय बन्नको लागि गुणस्तरयुक्त सेवा, सरसफाई, व्यक्तिगत व्यवहार र आवस्यक भौतिक संरचना हुनुपर्नेमा जोड दिनुभयो ।
प्युठान उद्योग बाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले ठुलो लगानीमा खोलिने व्यवसायको सुरक्षाका लागि स्थानीय सरकारले नीति निर्माण गरेर आर्थिक तथा भौतिक रुपमा सहयोग गर्नुपर्ने बताउनुभयो । सामुहिक लगानीमा व्यवसाय गर्दा जोखिम पनि कम हुनुका साथै परिणाममुखी हुने आचार्यको भनाई छ ।
जिल्लामा अहिले साना ठूला गरी करिब ८ सय होटलहरु सञ्चालनमा रहेको होटल व्यवसाय संघ प्यूठानका अध्यक्ष लिलाधर न्यौपानेले बताउनुभयो । कोभिड –१९ पछी सुस्ताएको होटल व्यवसाय यतिबेला प्युठानमा ठुलो लगानीमा बनेको यस त्रिदेव प्यालेसले आन्तरिक तथा बाह्रय पर्यटनलाई समेत जोड्ने विश्वास लिएको न्यौपानेको भनाइ छ ।
होटल विशुद्ध पर्यटन संग जोडिएको क्षेत्र भएकोले जिल्लाको पर्यटन विकासमा राम्रो सहयोग पुग्ने इलाका प्रसाशन कार्यालय जस्पुरका प्रमुख कृष्ण थापाले बताउनुभयो । होटल संचालनले होटललाई मात्र नभएर चौतर्फी व्यवसायीहरुलाई समेत सहयोग पुग्ने थापाको भनाई छ ।
कार्यक्रममा निर्माण व्यवसायी संघ प्युठानका बरिष्ठ उपाध्यक्ष शोभाराम न्यौपानेले पछिल्लो समय होटल क्षेत्रमा जिल्लाले राम्रो फड्को मारेको बताउनु भयो ।
स्थानिय युवाहरु सन्दिप के.सी, सरद बस्नेत, भुवन आचार्य र शुसिम भुसालको संयुक्त लगानीमा संचालन भएको प्यालेस जिल्लामा अहिलेसम्मकै उत्कृष्ट एवं सुविधा सम्पन्न होटलहरु मध्य एक भएको जनाइएको छ । जिल्लाको पर्यटकीय क्षेत्रको विकाससँग प्रत्यक्ष सरोकार राख्ने व्यवसाय होटल भएकाले जिल्लाको पर्यटकीय विकासलाई केन्द्र विन्दुमा राखेर संचालनमा ल्याइएको उक्त होटलको अध्यक्ष शरद बस्नेतले बताउनुभयो ।
‘होटल संरचना सहित करिव चार करोडको लागतमा निर्माण गरिएको भन्दै उहाँले भन्नुभयो , ‘युवाहरु बैदेशिक रोजगारमा जाने लर्को लागेको बेला हामीले आफ्नै ठाउँमा सुबिधा युक्त होटल संचालनमा ल्याएका छौ । ’यो हाम्रो सपना पनि हो, त्रिदेव प्यालेसले प्युठानमा पर्यटन प्रबद्र्धन र विभिन्न आर्थिक गतिविधिमा सहजता आउने विश्वास लिएको समेत अध्यक्ष बस्नेतको भनाई छ ।
होटलमा विवाह, व्रतबन्ध, सेमिनार,थकाली खाना, स्थानीय परिकार, एसी कोठा,फेमिली रेस्टुरेन्ट गोष्ठी लगायतका कार्यक्रम र टुरिष्टहरुका लागि विशेष खालको सेवाहरु रहेका सञ्चालक टिमले जनाएको छ । प्यालेसमा एकै पटकमा १ सय भन्दा बढी पाहुनालाई खाना खुवाउन सकिने र ५०/६० जना बस्न सकिने संचालकको भनाइ छ । होटल कोठाको प्रति दिन एक हजार देखी ३५ सय सम्म रहने जनाइएको छ । समुद्घाटन कार्यक्रा पत्रकार राधिका भुसालको संचालन र होटल संचालक सन्दिप केसीको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।