श्याम घिमिरे,
मंसीर २४ अर्घाखाँची –
नेपाली कम्युनिष्ट पार्टीका नेता बेदुराम भुसालले १६ वटा कम्युनिष्ट घटकहरु मिलेर बनेको एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको बताउनु भएको छ । नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीले बुधवार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दे नेता भुसालले कम्युनिष्ट आन्दोलनको एकता र स्वाधीनताको रक्षाका लागि कम्युनिष्ट पार्टीहरु बिचको एकता अपरीहार्य भएको दाबी गर्नुभयो । भुसालले अहिले १६ घटकको एकता भएको र समाजवाद यसको आधारभूत कार्यक्रम रहने पनि बताउनुभयो ।

नेपालमा दुईतिहाई जनमत कम्युनिष्टको भएतापनि टुट्फुटले समाजवादी क्रान्ति बाँकी रहेको भन्दै भुसालले त्यसैका लागि अहिलेको एकता अभियान थालिएको बताउनु भयो । भुसालले एकता जति धेरै समुहको बिचमा गरिएकोभएतापनि यो एकता मुख्य दुईवटा मुलधारका कम्युनिष्टहरु बिच गरिएको एकता भएको प्रष्टपनि पार्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणी खनाल बलदेवले नेत्रविक्रम चन्द विप्लव र जनार्दन शर्माले अन्तिम समयमा केपी ओलीलाई साथ दिने आरोप लगाउनुभयो । नेता खनालले अब निर्वाचनको विकल्प नभएको बताउँदै एकताको सन्देश दिन चुनावी नतिजा निकाल्नु पर्नेमा जोड दिनुभयो । खनालले एमाले कम्युनिष्ट नामको कलंक भएको भन्दै संसद पुर्नस्थापना केको लागी भन्दै एमालेलाइ प्रश्नसमेत गर्नुभयो ।
अर्का बक्ता नेपाली कम्युनिष्ट पार्टीका नेता सुदर्शन बरालले एकतालाइ कुर्सी व्यवस्थापनमामात्रै रुपमा नल्याई सिङ्गो राष्ट्र बदल्ने अभियानका रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका केन्द्रिय सदस्य ठाकुर कुमार बिकको अध्यक्षता, छमकुमारी खनालको स्वागत मन्तव्य र राम बहादुर चौहानको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका नेताहरु चन्द्रबहादुर खड्का ,सुशिला सिर्पाली , पिताम्बर भुसाल , पिताम्बर सारु,राजेन्द्र भुसाल ,सुशिल भट्टराई , नारायण शर्मा ,पार्टी प्रदेश कमिटीका सचिवालय सदस्यहरु, प्रदेश सल्लाहकारहरु , सहिद परिवार , जिल्ला सदस्य तथा सल्लाहकारहरु विभिन्न जवस मोर्चाका प्रमुख तथा प्रतिनिधि एवं पार्टीका नेता तथा कार्यकर्तालगायतको उल्लेख उपस्थिति रहेको थियो ।








