सोमबार १४ बैशाख २०८३

श्याम घिमिरे,
पुस ७ अर्घाखाँची –
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्ने घोषणा गरेको छ । पार्टीका पोलिटब्युरो सदस्य तथा ५ नम्बर ब्युरो सेक्रेटरी जितामित्र सुनारले निर्वाचन बहिष्कार गर्नु जनताको अधिकार भएको स्पष्ट पार्नुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले सोमवार सन्धिखर्कमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सुनारले वर्तमान निर्वाचन प्रणालीले जनताको वास्तविक प्रतिनिधित्व गर्न नसकेको आरोप लगाउनुभयो । “जनताको हकहित विपरीत भइरहेको निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै हामी शान्तिपूर्ण ढंगले बहिष्कार गर्छौं,” उहाँले भन्नुभयो, “निर्वाचन बहिष्कार गर्नु कुनै अपराध होइन, यो जनताको लोकतान्त्रिक अधिकार हो ।”

कार्यक्रममा पार्टीका अन्य नेताहरूले पनि वर्तमान राज्यसत्ता र निर्वाचन प्रणालीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै जनताको पक्षमा वैकल्पिक राजनीतिक बाटो आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले बहिष्कारका क्रममा कुनै पनि प्रकारको हिंसा नगरी शान्तिपूर्ण रूपमा जनचेतना फैलाइने बताए । नेताहरूले सरकारलाई जनआवाज सुन्न र जनमुखी राजनीतिक परिवर्तनतर्फ अग्रसर हुन आग्रह समेत गरेका थिए । कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका सेक्रेटरी राजेन्द्र नेपालीको अध्यक्षता र बुद्धिराम गैरेको सञ्चालनमा सम्पन्न भएको हो ।


Last Updated on: December 22nd, 2025 at 8:05 pm
७० पटक हेरिएको

तपाईको प्रतिक्रिया