श्याम घिमिरे ,अर्घाखाँची, माघ १२ —
नेपाल कम्युनिष्ट पार्टी (एमाले) भूमिकास्थान नगर कमिटी, अर्घाखाँचीको आयोजनामा नगरस्तरीय विस्तारित बैठक तथा उम्मेदवारसँग भेटघाट कार्यक्रम सोमवार भूमिकास्थानको पोखेडाँडामा सम्पन्न भएको छ । बैठकमा मन्तव्य राख्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पिताम्बर भुसालले आफू पार्टीमा इमान्दारपूर्वक काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि जनताकै साथमा उभिएर सेवा गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मतदाताको शिर उच्च हुने र भोटको पूर्ण सम्मान हुनेगरी हरेक राजनीतिक कदममा अगाडि बढाउने स्पष्ट धारणा समेत राख्नुभयो ।

उम्मेदवार भुसालले सांसदमा निर्वाचित भए पछि अर्घाखाँची जिल्लाका समग्र समस्या समाधानका लागि संघीय संसदमा प्रभावकारी नीति निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । जनताका हक–अधिकार सुनिश्चित गर्न नीति तथा कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने र विकास निर्माणका सवालमा दीर्घकालीन सोच सहित काम गर्ने भुसालको भनाइ छ ।
एमाले जिल्ला अध्यक्ष समेत रहनु भएका भुसालले राजनीतिलाई पेशा नभइ, सेवाभावका साथ अघि बढाउनुपर्ने अभियानको रूपमा व्याख्या गर्दै जनताको विश्वास, सहभागिता र साथबाट मात्रै समृद्ध समाज निर्माण सम्भव हुने उल्लेख गर्नुभयो । उहाँले राजनीति जनसेवाको माध्यम हुनुपर्नेमा जोड दिंदै इमानदार नेतृत्वले मात्रै जनताको मन जित्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
बैठकमा पार्टीका नेता–कार्यकर्ता, नगर कमिटीका पदाधीकारीहरु र जनवर्गीय संगठनका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । नगरस्तरीय विस्तारित बैठकले संगठन सुदृढीकरण, निर्वाचन तयारी तथा जनसम्पर्क अभियानलाई अझ प्रभावकारी र व्यवस्थीत बनाउने संकल्प समेत व्यक्त गरेको पार्टी नगर इन्चार्ज बसन्ता पौडेलले बताउनु भयो । बैठक पार्टी नगरकमिटी अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता, सचिब हरी बहादुर केसीको स्वागत मनतब्य र ईश्वरी मरासीनीको सञ्चालनमा सम्पन्न भएको पार्टी जिल्ला सदस्य रेशम थापाले जानकारी दिनुभयो ।








