श्याम घिमिरे, फागुन २४, अर्घाखाँची –
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा भारी मतसहित निर्वाचित हुनु भएका हरि प्रसाद भुसालको जीवन यात्रा निकै प्रेरणादायी कथा बनेको छ । करिब दुई दशकसम्म पत्रकारितासँगै आर्टिस्टका रूपमा साईनबोर्डमा अक्षर कोर्दै आफ्नो मेहनत, संघर्ष र पसिनाले जीवन अघि बढाउनु भएका भुसाल अहिले जनताको विश्वास र समर्थनका साथ देशको सर्वोच्च विधायिकी थलो संसदसम्म पुग्न सफल हुनु भएको छ ।

साधारण श्रम र सिर्जनाबाट सुरु भएको उहाँको जीवन यात्रा आज नयाँ उचाइमा पुगेको छ । कहिले बजारका पसल र सडक छेउका साईनबोर्डमा अक्षर कोर्ने हात अब देशको भविष्यसँग जोडिएका कानुनका अक्षर कोर्ने जिम्मेवारीमा पुगेका छन् । यही परिवर्तनले उहाँको यात्रालाई अझ प्रेरणादायी बनाएको छ ।
पत्रकारिता र कला दुवै क्षेत्रसँग नजिकबाट जोडिएर समाजका कुरा बुझ्दै आएका भुसाल पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत सक्रिय राजनीतिमा लाग्नुभएको थियो । गाउँ–गाउँ पुगेर संगठन निर्माण गर्ने, युवालाई जोड्ने र परिवर्तनको आवाज उठाउने क्रममा उहाँले जिल्लामा पार्टीको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।
जिल्लाको भूमिकास्थान नगरपालिका–३ धारापानीमा आमा निमकला भुसाल र बुवा दोल प्रसाद भुसालको कोखबाट २०४५ साल कार्तिक २४ गते जन्मनु भएका भुसाल सानैदेखि मेहनती र सिर्जनशील स्वभावका व्यक्ति भएको स्थानियहरुको भनाइ छ । उहाँले कक्षा १ देखि एसएलसीसम्मको अध्ययन स्थानीय शान्ति माध्यमिक विद्यालयमा गर्नुभएको हो । २०६० सालमा सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएका भुसाल हाल पाणिनी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत रहनुभएको छ ।
पत्रकारितामा पनि उहाँको सक्रियता उल्लेखनीय छ । भुसाल सन्धिखर्कमा रहेका नयाँ एफएमका सञ्चालकसंगै स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका पूर्व जिल्ला अध्यक्ष भैसक्नु भएको छ । त्यस्तै, लाइन्स क्लब अर्घाखाँचीका संस्थापक अध्यक्ष तथा अर्घाखाँची चेम्बर अफ कमर्सका महासचिवको जिम्मेवारीसमेत सम्हालिसक्नु भएको छ ।
भुसालको राजनीतिक यात्राको सुरुवात भने चुनौतीपूर्ण थियो । २०७३ सालमा विवेकशील पार्टीको तर्फबाट प्रदेश सांसदको उम्मेदवार बने पनि उहाँले पराजय भोग्नुभयो । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेर ३२ सय मत प्राप्त गर्नुभएको थियो । तर निरन्तर संघर्ष र जनतासँगको सम्बन्धलाई कायम राख्दै अघि बढेका भुसाल यसपटक भने जनताको व्यापक समर्थनसहित विजयी हुन सफल हुनुभएको छ ।
साईनबोर्डका अक्षरबाट सुरु भएको उहाँको यात्रा आज संसदका कानुनका अक्षरसम्म पुगेको छ, जुन अर्घाखाँचीवासीका लागि मात्र होइन, मेहनत र इमान्दारीमा विश्वास गर्ने सबैका लागि गर्व र प्रेरणाको विषय बनेको छ ।
स्पष्ट, निर्भीक र यथार्थ कुरा बोल्ने स्वभावका कारण उहाँ पछिल्लो समय विशेषगरी युवा पुस्तामाझ लोकप्रिय बन्नुभएको छ । संघर्ष, सिर्जना र प्रतिबद्धताको यात्राबाट संसदसम्म पुगेका भुसालको कथा आज धेरै युवाका लागि आशा र प्रेरणाको उज्यालो उदाहरण बनेको समेत बनेको छ ।
भुसाल एमालेका उमेदवार पीताम्बर भुसाललाई १२ हजार ३७४ मतले पराजित गर्दै निर्वाचित हुनुभएको हो । उहाँले ३५ हजार २३ मत प्राप्तगर्दा पीताम्बर भुसालले २२ हजार ६४९ मत प्राप्त गर्नुभएको हो । यस्तै काँग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १८ हजार ९८३ मत प्राप्तगर्नुभएको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल १ लाख ७१ हजार १७६ मतदाता रहेका थिए । तीमध्ये ८६ हजार ३०६ मत खसेका थिए । खसेका मतमध्ये ८३ हजार ३०६ मत सदर भएका छन् भने ३ हजार २२० मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताउनुभयो । जिल्लामा १२ राजनैतिक दल र ३ स्वतन्त्र उम्मेदवार गरि १५ जना चुनावी मैदानमा थिए ।
निर्वाचित भएपछि भुसालको पहिलो सम्बोधन : जनताको चाहना अनुसार काम गर्ने प्रतिबद्धता
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हरि प्रसाद भुसालले आफ्नो पहिलो सम्बोधनमार्फत जनताको चाहना र भावना अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले निर्वाचनमा प्राप्त विजयलाई अर्घाखाँचीवासीको विश्वास र आशाको जित भएको बताउँदै जनताको आवाज संसदसम्म पु¥याउने र जनताको हितमा काम गर्ने बताउनुभयो । भुसालले आफूलाई मत दिने सम्पूर्ण मतदाता, समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै जनताको विश्वासलाई कहिल्यै कमजोर हुन नदिने उल्लेख गर्नुभयो ।








