
श्याम घिमिरे,
बैशाख १५ अर्घाखाँची — घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्लाका विभिन्न क्षेत्रका २२ जना उद्यमीहरुलाई लक्षित गर्दै उद्यमी एक्स्पोजर भ्रमण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त भ्रमणमा सहभागी उद्यमीहरुले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा रहेका विभिन्न उद्योगहरुको स्थलगत अवलोकन गर्दै अनुभव आदानप्रदान गरेको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।
भ्रमणका क्रममा सहभागीहरुलाई सम्बन्धित जिल्लाका एकीकृत सेवा कार्यालयमार्फत त्यहाँका उद्योगहरुको संख्या, वर्तमान अवस्था तथा सम्भावनाका विषयमा कार्यालय प्रमुख तथा कर्मचारीबाट विस्तृत जानकारी प्रदान गरिएको थियो । यसले उद्यमीहरुलाई आफ्नो व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजीमा थप प्रेरणा मिल्ने अपेक्षा गरिएको कार्यालय प्रमुख न्यौपानेको भनाइ छ ।
त्यसैगरी, भ्रमण टोलीले ती जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको समेत अवलोकन गरेको थियो, जसले पर्यटनसँग सम्बन्धित उद्यम विकासका सम्भावनाबारे समेत सहभागीहरुलाई जानकारी दिएको छ । कार्यक्रमको सफल समन्वय तथा सहजीकरणका लागि सहयोग पुर्याउने सम्पूर्ण सरोकारवाला निकाय, कर्मचारी तथा सहभागी उद्यमीहरूप्रति कार्यालयले हार्दिक आभार समेत व्यक्त गरेको छ ।

