बुधबार २७ जेठ २०८३

श्याम घिमिरे अर्घाखाँची, जेठ २७ ।
नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सूचना तथा विज्ञापन सम्बन्धी व्यवस्थामा गरिएको विभेदकारी तथा प्रेस स्वतन्त्रता विरोधी निर्णयको विरोध गर्दै बुधवार जिल्ला प्रशासन कार्यालय अर्घाखाँची परिसरमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ। महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकको संरक्षण गर्नुपर्ने माग गर्दै सञ्चारमाध्यम र पत्रकारमाथि विभेद हुने कुनै पनि निर्णय तत्काल खारेज गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

धर्ना कार्यक्रममा महासंघका पदाधिकारी तथा जिल्लास्थित सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सूचना तथा विज्ञापन वितरणमा पारदर्शिता, समान व्यवहार तथा प्रेसमैत्री नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए। महासंघले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएकाले सञ्चार क्षेत्रलाई कमजोर बनाउने कुनै पनि निर्णय स्वीकार्य नहुने चेतावनी दिएको छ। साथै पत्रकारहरूको पेशागत हकहित र सञ्चार क्षेत्रको संरक्षणका लागि आवश्यक परे थप संघर्षका कार्यक्रम घोषणा गरिने जनाएको छ। धर्ना बिहान ११ बजे देखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सम्पन्न भएको हो।


Last Updated on: June 10th, 2026 at 6:08 pm
२ पटक हेरिएको

तपाईको प्रतिक्रिया