सोमबार २८ बैशाख २०८३

✍️ डिल्लीराज घिमिरे ( सङ्गम)
भूमिकास्थान ९, अर्घाखाँची –
छन्द भुजङ्गप्रयात
गण य य य य
सूत्र ष्कक ष्कक ष्कक ष्कक
वियोगान्त भुल्दै यशोगान गाऊ
टिपी पुष्प गुच्छा हियोमा सजाऊ
सधैँ शीत छर्नू बनी मूलपानी
तिमी धीरताको हुनू जिन्दगानी ।। १

म ठूलो हुँ भन्ने कतै लाग्छ लर्को
चिनेको छु मैले म आफ्नो र अर्को
पढी शब्द वाणी बनी स्वभिमानी
तिमी धीरताको हुनू जिन्दगानी ।। २

कतै तान्छ खुट्टा कतै हान्छ लात
छ यस्तै विकारी यहाँको जमात
सिकी पाठ सारा बनी सभ्य ज्ञानी
तिमी धीरताको हुनू जिन्दगानी ।। ३

यहाँ घोष राख्ने गफाडीहरू छन्
तिरस्कार गर्ने मवालीहरू छन्
दया भावनाको बसाई निसानी
तिमी धीरताको हुनू जिन्दगानी ।। ४

घुमाएर जाँतो लिई लाल झन्डा
नगर्नू कसैले यहाँ अंश बन्डा
असन्तुष्टले नै सधैँ गर्छ हानि
तिमी धीरताको हुनू जिन्दगानी ।। ५


Last Updated on: May 11th, 2026 at 11:20 am
२० पटक हेरिएको

तपाईको प्रतिक्रिया