बुधबार ०६ साउन २०८३

के पी भुसाल ‘अजस’

रहिछ्यौ अज्ञानी खुस जति सकायौ खसमका,
रहिछ्यौ पापीनी सब झुर बनायौ कबुलता ।
न दिन्छ्यौ तिर्खाले अतिव तन सुक्दा जल पनि,
न बोल्छ्यौ मायाले म थलपरदा मोहक बनी ।।

थिए धेरै आशा तर सब जलायौ दनदनी,
भरोसाको पोको कचरस बनायौ चुर बनी ।
जलेको यो मेरो मन र मुटुमा तेल थपदै,
कलङ्कीत् बन्दैछौ अझ कति अधर्मी सनकदै ।।

न दिन्छ्यौ हिड्दाका बखत पनि केही सबुतनै,
सधै लाचारी भै रहनु म कसोरी दिनदिनै ।
छिमेकी भन्दैछन् खुसुखुसु मलाई नकचरो,
सदा खाना हुन्छन् रस रहित मेरा कचकरो ।।

ठगाही जाली हौ छल कपट गर्दै हठ लियौ,
कुकर्मी,स्वार्थी हौ फगत सब मेरो श्रम लियौ ।
सबै इच्छा मेरा झुर झुर बनायौ यसघरी,
हिडेकी छौ सारै लसपस सिकारी मनपरी ।।

छ ऐले गालामा चमक रसिलो रूप अनि,
र जेथा खल्तीमा छल कपटको आँशु छ पनि ।
न टिक्ला तिम्रो त्यो तन त कलिलो जीवनभरी,
रुनेछौ क्वै दिन् ता अतिव पछुतोले खुसहरि ।।

नबुझ्छन् मेरा यी मन र तनका मर्म जनहरू,
गरेकै हुन्छन् नै हरतरह गिल्ला खुसुखुसु ।
न कोही सोध्छन् है दुखसुख बुझेका भनुँ कसो
छ पीडामा पीडा थपथप बसेको गरुँ कसो ?

बचेकै छन् कैयौं यस जगतमा पीडकहरू,
डटेकै हुन्छन् ती हृदय कुँडिएका तनहरू ।
छ धर्ती मै पीडा समय कलिको सोचन लिए,
सही सावित्रीका मन र मुटुता अल्प न भए ।।

प्रकाशन मिति : २०८१ असोज १४

 


Last Updated on: September 30th, 2024 at 3:56 am
१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया