के पी भुसाल ’अजस’ –
कैयौं खाक भए धरोहर ठुला नेपालका सम्पति,
सारै भो इतिहासमा युगयुगौं भुल्नै नसक्ने क्षति ।
जेन्जी बालहरू सफा हृदयले,खोज्दै थिए न्यायपो,
जस्ले घात गरे घुसेर भिडमा,पापी र दोषी न हो ।।

केही नष्ट भए जले महलजो,होलान् खडा क्वै दिन,
पूर्खाकै अभिलेखमा क्षति भए,मिल्ने कहाँ यी दिन ?
जेन्जीकै सपना अनादरगरी, छल्ने कुचेष्टा लिदा,
होला शान्ति कहाँ यसै मुलुकमा,धर्ती दुखी भै रुँदा ?
रित्तो काख हुने निरीह जननी, विक्षिप्त सारै भए,
टुक्रा ती मुटुका निरीह कलिला आधार बाँच्ने गए ।
धेरै घायलले कठै मुलुकका, शैय्या टनाटन् भरे,
अज्ञानी लठुवा कतै खुसहुदै, चोरीचकारी गरे ।।
कैयौं नोट जले अवैध पनिता, ठूलाबडाकै घर,
पूरा देशभरी भयो सनसनी, केहुन्छ भन्ने डर ?
यस्तो संकटमा कठोर मनका, पीडा नदेख्नेहरू,
स्वार्थी खेल रचे पदासिन हुने, ताकेर कुर्सी बरु ।।
सारै अस्थिर भो बुझौं सबजना,नेपाल भित्र स्थिति,
यस्तो चाल रहे सुधार नभए, होला झनै दुर्गति ।
हट्नै पर्छ सबै दलाल भतुवा, यो देशका दुर्जन,
हट्छन् धुर्त सबै कुनै दिन यहाँ जागौं सबै सज्जन ।।
प्रकाशन मिति : २०८२ कार्तिक ११


