के पी भुसाल ‘अजस’
आमा कोखदियौ खुसीर मनले राख्यौ महिनौं अनि,
कैयौं कष्ट सहेर यो तन दियौ धर्ती कुचायौ पनि,
मायाँ काख दियौ सधै अमृतका धारा मलाई दियौ,
आमा ज्ञान दियौ र जात महिमा मुस्कान धेरै दियौ ।
आमा काखलिएर नित्य खुसले खान्थ्यौ खुवाउ्दै अनि,
काख्मै शौचहुदा कुनै समयमा धुन्थ्यौ खुसीले पनि,
मेरै कारणले चिसो शयनमा आफै उसैमा सुति,
दिन्थ्यौ न्यानु सधै प्रसन्न मनले बिग्रेन तिम्रो मति ।
मेलापात गए हतार गरने बच्चा छ सानो भनि,
केही खाँनपरे मिठो र मसिनो बच्चा सधै संझनि,
खेल्दा आँगनमा प्रसन्न मनले ताते गराउ्थ्यौ अनि,
भाषाज्ञान दिएर सानु म हुदा सारै रमायौ पनि ।
गर्थ्यौ कामसधै ठुला वजनका तिम्रा जमाना दुखी,
विज्ञानी सबकामले हुनगए ऐले जमाना सुखी,
पानीका दुःखले बिहान वितने टाढा पधेरो हुदा,
मेलापात झनै थिए कठिनका भारी सधै बोकदा ।
चिन्ता धेरहुदा दुखी मनहुदा शीतार्द्र छर्थ्यौ तिमी,
खाँना क्यै दिनमा नखाइ डुलदा झोंक्रेर बस्थ्यौ तिमी,
दिन्थ्यौ रोष दुखीहुदै तरखुबै हुन्थ्यौ अधेरी तिमी,
आमा ज्ञानविवेककी सहचरी दैवज्ञ नै हौ तिमी ।
आमा कोख दियौ अपत्य जतिछौँ संझेर वर्दान हरि,
हुर्कायौ जननी खुसी मनधरी कुल्चेर पीडा झरी,
दिन्थ्यौ पोषण सानमान सबको खर्चेर औकात अति,
गर्थ्यौ स्नेह बराबरी हरघडी दिन्थ्यौ भएको जति ।
तिम्रो जीवन उत्तरार्ध हुनगयो पीडा सकस्को अति,
चिन्ता धेरहुदा र गाथ दुखदा बिग्रेन तिम्रो मति,
तिम्रा साख चिन्यौ तसै बखतमा सेवा कसोरी भयो,
हे माता जननी छ याद अहिले पीडा असाध्य थियो ।
हे माता सहजै गयौ क्षितिज त्यो तैरेर पारी गयौ,
धर्तीको सब पञ्चतत्त्व तन त्यो छाडेर टाढा गयौ,
तिम्रो भौतिक देह मूर्ति थलमा हेर्दा नदेख्दा पनि,
झल्को यो मनमा छदै छ अटलै आमा थियौनी भनि ।
आमाहुन् अनमोल साख सबकी ठूली दयासागर,
माताको महिमा अपत्य सहजै बुझ्ने कहाँ हुन्छर,
आमा हौ अवतार योजगतकी देवीसरी मान्दछु,
आमाहुन् धरती ठुलाहृदयकी हार्दिक पूजा गर्दछु ।।
प्रकाशन मिति : २०८० बैशाख ७