शुक्रबार ०८ साउन २०८३

केपी भुसाल ‘अजस ’

मलाई हुर्कायौ करुण मनले मालिक तिमी,
अजाको पाठोला सहचर सिकायौ दिनगनि,
गरेनौ हेला क्यै पल पनि गर्यौ आदर सधै,
लियौ यै पाठाको निठुर कसरी मोल गनदै,

मसीनो डोरीले गलभर कसेको हपहपी,
छडीले हानेकै छ पछिपछि खुट्टा सपसपी,
घमण्डी माथाले गफ खुब चुटेथ्यौ पथभरी,
न हेरेथ्यौ कोही नयन अश्रु मेरा गहभरी,

जुटेकै छौ ऐले धनपतिहरू भोज भनदै,
रमेकै छौ पापी फगत पशुको ज्यान लुटदै,
यहाँ प्राणी ऐले मकन बकुरो मात्र छु दुखी,
खुसी भै लुछ्नेछौ अशुभ सिनु हड्डी चुसिचुसि,

न दाह्रा छन् तिम्रा मुखभर कतै जन्तु लुछनला,
न आन्द्रा हुन् तिम्रा सिनु सहज खाँदै पचनला,
न हौ मांसाहारी तर सनक लिन्छौ असुरको,
किन ब्यर्थै चुँड्छौ मनुज निठुरी ज्यान पशुको,

न सक्छौ हिम्साले अजर हुन मान्छे भुवनमा,
न राम्रो खाना हो सिनु मनुज तिम्रो परतमा,
जुनी हो मान्छेको प्रथम सब प्राणी जगतमा,
कुकर्मी हिम्साले नरपशु हुनेहो फगतमा,

छ पक्का प्राणीको जनम पछि मर्ने नियमता,
कसैले सक्दैनौ प्रकृति र विधाता जितनता ,
ठुला छौ धर्तीका मनुज सब प्राणीजगतमा,
ठुलो हुन्नौ मान्छे क्षितिज पर पुग्दा गगनमा ।।

 


Last Updated on: December 29th, 2023 at 4:17 am
१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया