के पी भुसाल ’अजस’
आयो हितैषी ऋतुराज वसन्त,
ल्यायो चिनारी मजुरा असंख्य ।
नङ्गा र फुस्रा सब बृक्षलाई,
वहार छायो खुसको रजाइँ ।।
बेसी तराई भिर टापु लेक,
पाखा पखेरा धरतीमा अनेक ।
हट्छन् निखुर्का मुजुरा पलाए,
टुट्दैन शोभा मधुमास आए ।।
झ्याम्मै परेका वनभित्र घुम्दै,
लुक्छन मिठासी पिकचारु बास्दै ।
लता लतामा नचरी लगाइ,
गर्छन् चरीले अनुपम रजाइँ ।।
गर्मी बढेको अनुभूति गर्दै,
खोज्थे छहारी सब जन्तु डर्दै ।
बसन्त ल्यायो भरिलो छहारी ,
बढ्यो सबैमा खुसको भकारी ।।
रहेछ धर्ती शिवकै कमान,
बन्दैन कोही उनको समान ।
नगर्नु बेस कसैले दुराशा,
छ पञ्चतत्त्व प्रभुकै भरोसा ।।
बसन्त छायो धरती पछाइ,
वहार गर्दैन सधै रजाइँ ।
देखिन्छ सारा रसिलो तरङ्ग ,
लिन्छन् सबै थल् चर नै उमङ्ग ।।
ए भाइ पीडा मनका हटाउ,
बसन्तको नामलिदै रमाउ,
चाहेर मात्रै खुसता रहन्न,
सन्जोग आउछ सधै रहन्न ।।
दिदी र बैनी वन भित्र जाउ,
मुना हेरेर नयाँ सोंच बनाउ ।
पानी पनेलो बगि जान्छ जस्तै,
मनुष्य चोला पनि हुन्छ उस्तै ।।
उदेक मानेर हरेस् नखाउ,
बरू खुसी भै उद्यान धाउ ।
अदृश्य शक्तिको तपमा रमाउ,
चिन्ता विचल्ली मनका हटाउ ।।
मिल्दैन बहार खोजेर नित्य,
अपार शक्ति प्रभुको छ दिब्य ।
कृपा उनैको चरमा छ उच्च,
घुमेर नथाक्ने ऋतुराज बसन्त ।।
प्रकाशन मिति : २०८० चैत १७