Trend
बुधबार , फागुण ६, २०८२

गाढा निलो रङ्गको
बाह्रै हात लामो
दुई हात गजीलो
जाडो गर्मी
सधैँ एकैनासले
हरदम बेरीने
वरिपरि कम्मरमा
आमाको पटुका ।

हाम्रो लागि सदैव
थरि थरिका
खानाको खजाना
मकैभटमासदेखि
भेली
मिश्री
नरिवलका टुक्रा
र पिपलगेडी सम्म
फोर्सा
ऐंसेलु
भेमल
खन्यु
तेजु
राजु
र मयल सम्म
आँटीको मदुस झैँ
सबैकुरा अटाउने
आमाको पटुका ।

हावा फुस्किएको
गुब्बारा जस्तै
खुम्चिएर धार बसेको
प्रायःजसो मैलो देखिने
र पछाडिको कम्मरको भाग
सधै भिजेको देखीने
अनी कपास जस्तै
पानी सोस्ने
आमाको पटुका ।

सधै पानी
र पसीनाले भिज्नु बाहेक
धोएर घाममा सुकाउँदा
कहिले काहीँ
सम्पुर्ण आकाश
भुईंमा झरे झैं
वल्लो अँसुरोदेखि
पल्लो अँसुरोको बोटसम्म
बारीको डोरै
नीलो पारी ढाक्ने
आमाको पटुका ।

“बस्तु एक प्रयोग अनेक“
भनेझैं
पेटको बच्चा त
छोपेकै थियो
काखको बच्चा
निदाउँदा पनि
ओढाउन मिल्ने
पाहुना तथा जेठाजु
अकस्मात आउँदा
सप्को हाली
छाती
र कपाल समेत
ढाक्न मिल्ने
सुकी
मोहर
ढेक
र बढिमा
पाँचको रातो नोट
टुप्पोमा गाँठो पारी
राख्न मिल्ने
साँच्चै बहुपर्योजनको थियो
आमाको पटुका ।

घाँस
दाउरा
पानी
अनि धानपराल
साथै मनको भारी बोक्दा
समेत दरो आड दिने
भोक लाग्दा कस्न मिल्ने
भोक मेटिंदा आफैं कसिने
शरीरले ओकलेका पसिना
र मनले ओकलेका
आँसु समेत पुछ्न मिल्ने
एक अभिन्न मित्र समान
आमाको पटुका ।

कल्पना गर्नै गाह्रो हुने
आमा बिनाको पटुका
र पटुका बिनाको आमा
एक अर्काको पर्याय जस्तै
भगवान पुज्ने भएदेखि
भगवानको प्यारो हुँदासम्म
कहिल्यै साथ नछोड्ने
कति प्रिय
आमाको पटुका ।

कहिलेकाँहि
आकाश सफा देख्दा लाग्छ
आज आमाले पटुका
धोएर सुकाइछन्
जीवनभरी कहिल्यै
त्यति सफा
र बेदाग देखिन
जति आज देख्छु
आमाको पटुका ।

✍️ कल्पना मरासिनी
भूमिकास्थान ९ ,अर्घाखाँची
( हाल ललितपुर )

प्रकाशन मिति : २०८२ बैशाख २८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP