के पी भुसाल ‘अजस’
कैयौं द्वन्द्व बढे मनुष्य बिचमा, सङ्ग्राम ठूला भए,
धेरै भौतिक बस्तु नष्ट हुनगए, मान्छे निहत्था गए,
गोला बारुद बर्सदा जगतमा,कस्तो बिचल्ली भयो ,
घाती युद्ध हुदा अथा क्षति हुदा राम्रो कहाँ देखियो ।
उठ्छन् सस्त्र र अस्त्र हैकम दिदै स्वार्थी अचाक्ली अनि,
गिर्छन् ती खतरा मिसाइलहरू, बस्ती बिचैमा पनि,
गुम्छन् ज्यान कठै निरीह जनका,केही नजानी कन,
यस्ता घातक चालको लहडमा को हुन्छ हाँस्ने जन ।
पीडा दुःख विछोड रोदन सधै, ल्याउँछ सङ्घर्षले,
कैयौं सुन्दर भूमि खाक बनदा,को सुत्छ आनन्दले,
पुर्खा कै अनमोल भौतिक रचना,नामेट बित्था हुदा,
फर्कन्नन् तन बस्तु मासिनगए ,संसार शोक्मा रुदा ।
तृष्णा शत्रु बुझेर यो जगतमा, त्याग्दैन मान्छे किन,
यस्तो सुन्दर देह मानव जुनी, चिन्दैन कोही किन,
खोज्दा शान्ति सधै दुखी जनहरू,मिल्दैन हेलै किन,
दुःखीको घरमा सधै थपथपी,दुःखै थपिन्छन् किन ।
मान्छे नै अवता बुझौं अतिभयो, धर्ती विषादी भयो,
सारा भूतलनै विनाश गरने, क्षेप्यास्त्र बन्दोभयो,
धर्तीनै नरहे तसै बखतमा, प्राणी बचौंला कहाँ,
घाती संकट बाट जोगिन सके, सोर्गै समान् छ यहाँ ।
हप्की स्वाङ तनाव हैन नरमा, खाँचो छ सद्भावको,
गोली सङ्गिन खोज हैन अवता,चासो छ संयोगको,
लाठी बन्दुक बोक्नु हुन्न मनुले,नाता छ बन्धुत्व को,
त्यागौं द्वेष इबी सधै सबजना,बाटो लिदै शान्तिको ।।
प्रकाशन मिति :२०८० असोज २५