शुक्रबार २९ जेठ २०८३

के पी भुसाल ’अजस’

आमा तिम्रो करुण ममता विर्सु मैले कसोरी,
हुर्काएको हरदम खुबै हात हातै मुसारी ।
कोखी तिम्रो असहन हुदा गर्व गर्दै खटाइ,
पीडा सह्यौ अतुल तनको, रूप आफ्नै घटाइ ।।

राख्यौ तिम्रै उदर तनमा भ्रुण सानो लुकाइ,
हुर्कायौ जो सुखद मनले भित्र आत्मा हसाइ ।
औलाद्लाई जनम दिनु नै लक्ष महान् बनायौ,
यस्तो सुन्दर् जनम मनुको धन्य धर्ती कुचायौ ।।

आमा तिम्रो असिम दुखको मर्म मैले बुझेको,
ब्याख्या गर्न क्षम छ अधुरो छैन सारै खुलेको ।
भित्री आँखा हरदम खुबै दिन्छ गाडा सुझाइ ,
लेख्दै गर्दा नयन अश्रुले छेक्छ धारा बगाइ ।।

पानी बोक्दा चरण खिइदा थेन कोही सहारा,
गाई भैंसी पशु थप हुदा, थेन अर्को महारा ।
छोराछोरी अतिथि सबको गर्नु पर्ने सुसार,
खेतीपाती सहज नहुदा, काम हुन्थे हतार ।।

ठूलै दर्जा पद र धनले मत्त औलाद् महान,
माताजीका मन नजरमा हुन्छ सारै अजान ।
आफ्ना पीडा हरदम सही भित्र राख्ने लुकाइ,
माता राख्छिन् खुस सुखदमा नित्य औलाद् हसाइ।।

आमा भन्दा प्रिय जगतमा हुन्न कोही कतैको,
आमाको झैँ हृदय कमलो हुन्न कोही कसैको।
सन्तान् लाई हरबखत नै हुन्छ आमा अधार,
आमा देवी सरह बुझदै नित्य गर्छु पुकार ।।

आमा तिम्रो अजर श्रमको मोल मैले लिएको,
भारा दुध्को अटल छ सधै छैन मैले भुलेको ।
आशिष् पाउँ हरदम खुबै सोच राम्रो रहोस,
द्यौता पूर्खा पितृ नमनमा चित्त मेरो पुगोस ।।

तिम्रो भौतिक् तन ढलिगयो प्राण वैकुण्ठ पुग्यौ,
छैनौ आमा क्षितिज तरदै विष्णु सामीप्य पुग्यौ ।
झल्को लाग्दा हृदय मनमा रूप छ्यौ संझनामा,
गर्दै पूजा अव म बबुरो ढोग्छु है तस्विरैमा ।।

प्रकाशन मिति :२०८१ बैशाख २६

तिम्रो भौतिक् तन अहिले छैन धर्ती कतैनि,


Last Updated on: May 8th, 2024 at 9:19 am
२०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया